लगातार वर्षासँगै ६ सडक खण्ड अवरुद्ध, यातायात ठप्प

काठमाडाैं, २४ असाेज । लगातारको वर्षापछि देशका विभिन्न भागमा पहिरो गएपछि ६ प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार कोशी, मेची र बागमती प्रदेशका मुख्य राजमार्गहरूमा अहिले यातायात पूर्ण रूपमा ठप्प भएको छ।
कोशी प्रदेशमा संखुवासभा जिल्लास्थित कोशी राजमार्ग अन्तर्गत भोटखोला–बरुणखोला र मकालु–एकुवा सडक खण्डमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको छ।
त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को राजदुवाली क्षेत्र र तमोर करिडोरको पाँचथर–नावाखोला सडक पनि पहिरोले रोकिएको छ।
बागमती प्रदेशमा पासाङ ल्हामु सडकखण्ड अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक अवरुद्ध भएको जनाइएको छ। यस्तै, बिपी राजमार्गमा काभ्रे–रोशी गाउँपालिका–११ का माम्तिखोला, डालाबेसी, बल्ढुंगा र बाँझोखेत क्षेत्रमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ।
सडक खुलाउने काममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन्। सम्बन्धित निकायहरूले पहिरो पन्छाउने प्रयास जारी राखेका छन् भने यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न सतर्कता अपनाउन आग्रह गरिएको छ।