नेपाली बजारमा बजाजको ‘गति’, प्रतिस्पर्धामा हिरो र यामाहाको चुनौती

काठमाडाैं, २४ असाेज । नेपाली अटोमोबाइल बजारमा फेरि बजाजले आफ्नो वर्चस्व कायम राखेको छ। सन् २०२५ का सात महिना (जनवरीदेखि जुलाईसम्म) को मोटरसाइकल आयात तथ्याङ्कले बजाजले सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको देखाएको छ।
उक्त अवधिमा नेपालमा कुल १ लाख २५६ युनिट मोटरसाइकल भित्रिएका छन्। तीमध्ये बजाजले मात्र ५४ हजार ९३१ युनिट आयात गरेको छ, जुन कुल आयातको ५४.७८ प्रतिशत हिस्सा हो। बजाजका पल्सर सिरिज, डोमिनार, एभेन्जर र डिस्कभर मोडलहरू बजारमा लोकप्रिय छन्। नेपालमा यसको आधिकारिक वितरक हशंराज हुलासचन्द एण्ड कम्पनी हो।
बजारमा दोस्रो स्थानमा हिरो मोटरसाइकल रहेको छ। नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले सात महिनामा १२ हजार ५४५ युनिट आयात गरेको छ, जसले कुल बजारको १२.५१ प्रतिशत हिस्सा ओगटेको छ। हिरोका चर्चित मोडलमा एक्सपल्स, स्प्लेण्डर, सुपर स्प्लेण्डर र एक्सट्रीम पर्दछन्।
तेस्रो स्थानमा रहेको यामाहाले सात महिनामा १० हजार २२२ युनिट मोटरसाइकल आयात गरेको छ, जसको हिस्सा १०.१९ प्रतिशत छ। यसको बिक्रेता एमएडब्लू राइड हो। यामाहाका एफजेड, आर१५, एमटी१५, सलुटो, एक्सटीजेड र डब्लूआर मोडलहरू नेपाली युवाबीच लोकप्रिय छन्।
त्यसपछि टीभीएसले ८ हजार ५०० युनिट आयात गर्दै चौथो स्थान सुरक्षित गरेको छ। यसका अपाचे आरटीआर, रेडर, रोनिन र स्ट्राइकर मोडल बजारमा बिक्रीमा छन्।
रोयल इन्फिल्ड पाँचौं स्थानमा रहँदै ७ हजार ५६२ युनिट आयात गरेको छ। यसको क्लासिक ३५०, हन्टर, मेटियर र हिमालयन मोडलहरू नेपाली बजारमा चर्चित छन्।
साना ब्राण्डमध्ये केटीएमले ५२२ युनिट, सुजुकीले १०८ युनिट, जोनसेन र जुमाभले ४५–४५ युनिट, र सीएफ मोटोले ३५ युनिट आयात गरेका छन्।
हालका तथ्यांकले भने एक कुरा स्पष्ट गर्छ — नेपाली सडकमा बजाजको ‘रफ्तार’ अझै अगाडि छ, तर हिरो, यामाहा र टीभीएसले पनि आफ्नो रणनीति र मोडल नवप्रवर्तनमार्फत तीव्र प्रतिस्पर्धा सिर्जना गरिरहेका छन्।