सवारी सुविधा दुरुपयोग रोक्न सरकारको पहल, मापदण्ड तयार गर्ने तयारी

काठमाडाैं, २४ असाेज । सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएको गुनासोपछि सरकारले अब सवारी सुविधा व्यवस्थापनका लागि स्पष्ट मापदण्ड बनाउन पहल थालेको छ। अर्थ मन्त्रालयले यसका लागि सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट विस्तृत विवरण माग गरेको छ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीका नाम, दर्जा, प्रयोगमा रहेका सवारीसाधनको मोडल, कार्यालयमा रहेका सवारीको किसिम र सवारी चालकको विवरण माग गरेको हो।
मन्त्रालयले सो विवरण सात दिनभित्र बुझाउन निर्देशन दिएको छ। यसरी संकलित विवरणका आधारमा सरकार सवारी सुविधा व्यवस्थापन सम्बन्धी मापदण्ड तर्जुमा गर्ने तयारीमा छ।
अर्थ मन्त्रालयका अनुसार सरकारी कर्मचारीमा मौलाएको सवारीसाधनको व्यक्तिगत प्रयोग र दुरुपयोग गर्ने प्रवृत्ति रोक्नै यसको मुख्य उद्देश्य हो। मापदण्ड कार्यान्वयनमा आएपछि सरकारी सवारी साधनको दुरुपयोगमा नियन्त्रण आउने र पारदर्शिता कायम हुने अपेक्षा गरिएको छ।