एमआरपी बिना सामान बिक्रीमा विभागको चेतावनी

काठमाडाैं, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको अवसरमा बजारमा बिक्री हुने सबै वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न व्यवसायीहरूलाई पुनः सचेत गराएको छ।
तिहार लक्षित अनुगमनका क्रममा विभागले भाइ मसला, तामा–चाँदीका भाँडा, झिलिमिली बत्ती लगायतका वस्तुहरूमा मूल्यसहितको लेबल नदेखिएको भन्दै आपत्ति जनाएको हो। यसरी मूल्य उल्लेख नगरी बिक्री वितरण गर्नु उपभोक्ता संरक्षण ऐन विपरीत भएको विभागको भनाइ छ।
विभागले बजारमा मूल्य स्थिरता र उपभोक्ता हित सुनिश्चित गर्न व्यवसायी, संघ–संस्था र उपभोक्ता समूहबीच सहकार्य आवश्यक रहेको बताएको छ।
साथै, उपभोक्ताहरूलाई एमआरपी उल्लेख भएका सामान मात्र खरिद गर्न आग्रह गर्दै, कुनै पनि अनियमितता वा ठगीको घटना देखिएमा टोल–फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
विभागले चाडपर्वका समयमा बजारमा कृत्रिम मूल्यवृद्धि र उपभोक्तामाथि अन्याय रोक्न अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।