Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

“हबिब बैंकको अन्तिम बिदाइ : हिमालयन बैंकमा नेशनल लाइफको ‘ठूलो प्रवेश’”

“हबिब बैंकको अन्तिम बिदाइ : हिमालयन बैंकमा नेशनल लाइफको ‘ठूलो प्रवेश’”

काठमाडाैं, २८ असाेज । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिब बैंक लिमिटेड को सेयर विक्री गर्न अन्तिम स्वीकृति दिएको छ ।

केन्द्रिय बैंकका गभर्नरको अध्यक्षतामा बसेको व्यवस्थापन समितिले उक्त स्वीकृति दिएको हो । आइतबार मात्र स्वीकृतिपत्र प्राप्त भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले अर्थपथलाई जानकारी दिए ।

उनका अनुसार अब नेपाल धितोपत्र बोर्ड, नेप्से र कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर स्वामित्व हस्तान्तरण प्रक्रिया सुरु हुनेछ । राणाले भने, “तिहारपछि मात्र सम्पूर्ण प्रक्रिया पूरा हुने देखिन्छ । त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी बन्नेछ ।”

३३ वर्षपछि हबिबको निर्गमन
हबिब बैंकले तीन दशकअघि नेपालमा पहिलो पटक निजी बैंकिङ अभ्यास थालिँदै गर्दा हिमालयन बैंकमा २० प्रतिशत लगानी गरेको थियो । सो बैंक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शम्शेर जबरा र उनका ज्वाइँ पृथ्वीबहादुर पाँडेको पहलमा स्थापना भएको थियो ।

तर पछिल्लो समय सिभिल बैंकसँगको मर्जरपछि हबिबको स्वामित्व घट्दै १३ प्रतिशतभन्दा कममा झरेको थियो । लामो समयदेखि नेपालबाट लगानी फिर्ता लैजान खोज्दै आएको हबिबका लागि यो अन्ततः निर्गमनको अवसर बनेको हो ।

३ अर्ब ३३ करोडमा सेयर बिक्री
हबिबले आफ्नो नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर प्रतिकित्ता रु. ११८.८८ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न लागेको हो ।

यो सम्झौता गत साउनको अन्त्यतिर भएको थियो र नेशनल लाइफले यसका लागि ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी तिर्नेछ ।

हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक शेयरधनीलाई सेयर किन्न आग्रह गरेको थियो । त्यसैको आधारमा नेशनल लाइफले सबै सेयर किन्न प्रस्ताव गरेको हो ।

हबिबले न्यूनतम मूल्य रु. ११२.८० तोकेकोमा नेशनल लाइफले सो मूल्यभन्दा रु. ६.०८ बढी प्रस्ताव गर्दै सेयर खरिद गरेको हो । यही प्रस्तावलाई अब राष्ट्र बैंकले औपचारिक स्वीकृति दिएको हो ।

नेशनल लाइफको प्रभाव बढ्दै
हाल नेशनल लाइफको हिमालयन बैंकमा १.२५ प्रतिशत मात्र स्वामित्व छ । तर हबिबको सेयर किनेपछि उसको स्वामित्व करिब १४ प्रतिशत पुग्नेछ र त्यससँगै बैंकको सबैभन्दा ठूलो संस्थापक लगानीकर्ता बन्नेछ ।

हबिबले पठाउँदै आएको सञ्चालक प्रतिनिधिको स्थानमा अब नेशनल लाइफले आफ्ना प्रतिनिधि पठाउनेछ ।

पहिलेका प्रयास असफल
हबिब बैंकले नेपालबाट बाहिरिन दुईपल्ट प्रयास गरेको थियो । करिब चार वर्षअघि ब्रिटिश संस्था कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ले हबिबको सेयर किन्न खोज्दा अन्य सञ्चालकको विरोधका कारण प्रक्रिया रोकिएको थियो ।

त्यसपछि २०८० मङ्सिरमा नवगठित हिमालयन रिइन्स्योरेन्स ले हबिबको सेयर किन्न प्रस्ताव गरेको थियो । तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले उक्त प्रस्ताव स्वीकृत नगरी रोकिदिएका थिए ।

त्यो बेला प्रतिकित्ता रु. १३० मा सेयर खरिद–विक्रय गर्ने सहमति भएको थियो । तर प्रक्रिया रोकिएपछि हबिबले अहिले नेशनल लाइफलाई त्यस भन्दा सस्तो मूल्यमा — रु. ११८.८८ — मा सेयर बिक्री गर्न तयार भएको हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *