Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

वीरेन्द्र बस्नेतसहित नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

वीरेन्द्र बस्नेतसहित नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता

काठमाडाैं, ३० असाेज । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थ मिलेर नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्। बिहीबार दर्ता भएको दलको अध्यक्षमा प्रसाईं, महासचिवमा कायस्थ र सदस्यमा बस्नेत रहेका छन्।

‘सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ’ भन्ने नाराका साथ अघि बढेको पार्टीले विगतका राजनीतिक दलहरूप्रति जनस्तरमा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्ने दाबी गरेको छ।

पेशावाद र पारदर्शितामा प्रतिबद्धता

पार्टीले जेन जेड आन्दोलनले देखाएको जनशक्ति र असन्तोषलाई सम्हाल्न असफल वर्तमान राजनीतिलाई वैकल्पिक दिशा दिन उदेश्य राखेको जनाएको छ। यसले राजनीतिलाई पेशा बनाउने प्रवृत्ति अन्त्य गर्दै, नागरिक–केन्द्रित, पारदर्शी र जवाफदेही शासन प्रणालीको खाका अघि सारेको छ।

पार्टीको घोषणापत्र अनुसार:

  • पुराना दलहरूको भ्रष्टाचार, सत्ता स्वार्थ र पहुँच आधारित संरचना अन्त्य गर्ने।

  • संघीय स्तरमा महासचिव र प्रदेश तथा पालिकामा सचिवको नियुक्ति।

  • एक व्यक्ति एक पद, दुई कार्यकाल मात्र रहने नियम।

  • सार्वजनिक पद र पार्टी पदमा फरक व्यक्ति रहने व्यवस्था।

  • पार्टी आम्दानी र खर्च अनलाइन, र प्रत्येक गतिविधिमा डिजिटल पारदर्शिता।

  • २०% भन्दा कम मत पाएमा सरकारमा सहभागी नहुने स्पष्ट अडान।

विधिको शासन र उद्यमशीलताको सम्मान

पार्टीले विधिको शासनलाई लोकतन्त्रको मेरुदण्ड ठानेको छ र सबै नागरिक, राजनीतिक नेता, कर्मचारी, व्यापारी र उच्चपदस्थका लागि समान रूपमा लागू हुने बताएको छ।

त्यस्तै, उद्यमशीलता र निजी क्षेत्रलाई अर्थतन्त्रका खम्बा मान्दै, स्व-रोजगार सिर्जना गर्ने, कर तिर्ने र राष्ट्र निर्माणमा योगदान गर्ने उद्यमीहरूको सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले आगामी चुनावमा विरोधको राजनीति र पेशागत स्वार्थले देशलाई गहिरो अन्धकारमा पुर्याउन सक्ने सम्भावना औंल्याउँदै, अबको राजनीति सोचयुक्त, सिर्जनशील, ईमानदारीमा आधारित र त्यागपूर्ण हुनुपर्नेमा जोड दिएको छ।

साथै, गतिशील लोकतान्त्रिक पार्टीले समावेशी र समतामूलक उज्यालो भविष्य सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, विकल्प खोजिरहेका मतदातालाई आकर्षित गर्न तयार रहेको बताएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *