Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

नर्स संघको चरणबद्ध आन्दोलन घोषणा, तलब र अधिकारका लागि दबाब

नर्स संघको चरणबद्ध आन्दोलन घोषणा, तलब र अधिकारका लागि दबाब

काठमाडाैं, ४ कार्तिक । नेपाल नर्स संघ (NNA) ले तलब–सुविधा र श्रम शोषणविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले सोमबार आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै देशभरका नर्सहरूलाई आन्दोलनमा उत्रिने कार्यक्रम सार्वजनिक गरेको हो।

संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला शर्माका अनुसार आगामी अक्टोबर २१ देखि २८ सम्म देशभरका अस्पताल तथा स्वास्थ्य शिक्षण संस्थानमा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने छन्।

त्यसपछि दोस्रो चरणमा, अक्टोबर २९ देखि नोभेम्बर ४ सम्म दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म आपतकालीन बाहेकका सेवा दुई घण्टाका लागि बन्द गरिने निर्णय गरिएको छ।

अध्यक्ष शर्माले मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन आउने नोभेम्बर ४ पछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने पनि बताइन्। उनका अनुसार नर्सहरूले आफ्नो श्रमको उचित मूल्य र अधिकारका लागि आन्दोलन गर्न बाध्य भएका हुन्।

शर्माले भनिन्, “नर्सहरूले गर्ने कामको मूल्यांकन र पारिश्रमिक दुवैमा अन्याय भइरहेको छ। हामी न्यूनतम तलबभन्दा पनि कम पारिश्रमिक पाउने अवस्थामा छौं, जुन श्रम ऐन विपरीत हो।”

उनले नर्सहरूले स्वास्थ्य सेवा ऐनअनुसारको पारिश्रमिक पाउनुपर्ने बताउँदै, हाल उनीहरूलाई श्रम ऐनका आधारमा कम तलब दिइनु अन्यायपूर्ण भएको टिप्पणी गरिन्।

पत्रकार सम्मेलनमार्फत संघले आन्दोलनका कारण स्वास्थ्य सेवामा असुविधा हुन सक्नेप्रति सार्वजनिक रूपमा क्षमा याचना गर्दै नर्सहरूको आवाज सुन्न सरकार र निजी अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ।

संघका अनुसार, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत नर्सहरूमा अत्यधिक असन्तुष्टि र निराशा बढ्दै गएको छ। संघले आन्दोलनलाई “नर्सहरूको सम्मान र अधिकारको लडाइँ”का रूपमा अगाडि बढाउने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *