Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मनलाग्दी हर्न बजाउने २० हजार १ सय २९ सवारी चालक कारबाहीमा, १० करोड भन्दा बढी राजस्व संकलन

मनलाग्दी हर्न बजाउने २० हजार १ सय २९ सवारी चालक कारबाहीमा, १० करोड भन्दा बढी राजस्व संकलन

मनमती पाण्डेय

काठमाडौं, २३ फागुन । अत्यावश्यक र जरुरी अवस्थामा बाहेक अन्य अवस्थामा उपत्यका भित्र गुड्ने सबै प्रकारका सवारीले हर्न बजाउन पाउदैनन । गत बैशाख १ गतेदेखि लागु गरिएको उक्त नियम उल्लंघन गर्ने सवारी चालकलाई ५ सय देखि १५ सय सम्म जरिवाना लगाउने गरेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार नियम उल्लंघन गर्ने सवारी चालकलाई सुरुमा ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक १५ सय रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

यो नियम लागु भए देखि फागुन २२ गते सम्म २० हजार १ सय २९ सवारी चालक कारबाहीमा परेका छन् । जसबाट १० करोड ६४ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । कारवाहिमा परेका मध्ये बागमती अञ्चलमा दर्ता भएका सवारीको संख्या बढि रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक उमेश रन्जितकारले जानकारी दिए ।

बैसाख महिनामा ३ हजार ७ सय २२, जेठमा २ हजार १ सय ८७, असारमा ३ हजार ७ सय ५४ सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै साउनमा २ हजार १ सय ६१ भद्रौमा १ हजार ८ सय ८७, असोजमा १ हजार ३ सय ८७, कार्तिकमा १ हजार ३ सय ७४, मंसिरमा ९ हजार ६सय ६९, पौषमा ८ सय ७२, माघमा १ हजार ८६ र फागुनको २२ गते सम्म ७ सय ३० सवारी चालक कारबाहीमा परेका छन् ।

महाशाखाले यातायात व्यवस्था विभाग, काठमाण्डौँ महानगरपालीकासँगको सहकार्यमा वायु र ध्वनी प्रदुषण कम गर्न भन्दै यो नियम लागु गरेको रन्जितकारले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स, दमकल, सव वाहान, सुरक्षाकर्मी र दुर्घटना हुनेगरी खतरा भए वा घुम्तीहरुमा हर्न बजाउन छुट दिइएको छ। यो नियम लागु भएसँगै पहिलेको तुलनामा अहिले ९० प्रतिशत ध्वनी प्रदुषण न्युनिकरण भएको पनि उनले जानकारी दिए ।

सवारी चालकले मनलाग्दी हर्न बजाउदा ध्वनी प्रदुषण हुनुका साथै पैदलयात्रु एवम सडक किनारा सर्वसाधारणले ठुलो कष्ट झेल्नु परेको गुनासो गरेका छन् । ट्राफिक प्रहरीले ११ महिना अघि यो अभियान थालेपनि त्यो अझै प्रभावकारी भने बन्न सकेको छैन । सडकमा ट्राफिक प्रहरी नभएका वेला वा ट्राफिकको आँखा छलेर चालकहरुले अझै पनि हर्न बजाउने गरेको सर्वसाधारणहरु बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x