Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हुपेई प्रान्तका चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक

हुपेई प्रान्तका चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकालको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको हुपेई उद्योग वाणिज्य महासंघ तथा हुपेई प्रान्तीय उद्योग वाणिज्य संघका उपाध्यक्ष चाओ सुफेङको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
सो भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका उपाध्यक्ष ढकालले नेपालमा लगानीको वातावरण, विदेशी लगानी सम्बन्धी विद्यमान नीतिगत व्यवस्थाका विषयमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए । नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएको ढकालको भनाई थियो । ‘नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेका छौं,’ ढकाललाई उद्धृत गर्दै महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालमा लगानी, पूँजी, प्रविधि भित्रयाउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको भन्दै ढकालले सरकारले सन् २०१९ को मार्चमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत उपयोग गर्न लगानीकर्तालाई सुझाव दिए ।
साथै उनले सम्मेलन अगाडी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसायिक ऐन र अन्य आवश्यक ऐन कानूनहरूलाई समय सान्दर्भिक रूपमा परिमार्जन गरी बढी भन्दा बढी वैदेशिक लगानी आकर्षणका लागि सरकार र निजी क्षेत्रले गृहकार्य गरिरहेको बताए ।
नेपालमा लगानीका सम्भाव्यताका विषयमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डललाई महासंघका तर्फबाट व्यवसायिक कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरिएको थियो । महासंघ उपाध्यक्ष ढकालले महासंघले सन् २०१९ को मार्चमा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा हुपेई प्रान्तको महत्वपूर्ण सहभागिताका लागि निम्तो समेत दिएका थिए ।
सो अवसरमा चिनियाँ पक्षबाट हुपेई प्रान्तका उद्यमीहरुले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूँजी मार्फत नेपालको विकासमा सहयोग गर्न इच्छुक रहेको बताएका छन् । छलफलमा नेपालको जलविद्युत विकासमा सहकार्य गर्ने विश्वास चिनियाँ पक्षबाट व्यक्त भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x