अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौ,१२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । पूर्व आयुक्त पाठकलाई भक्तपुरको चाँगुनारायण स्थित नेपाल इञ्जिनीयरिङ कलेजको उजुरी मिलाइदिने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा काठमाडौमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आयुक्त पाठकले कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेबाट अठहत्तर लाख रुपैयाँ घुस लिएको भनी संचार माध्यमहरुमा प्रकाशित समाचारहरुलाई उजुरीका रुपमा दर्ता गरी अनुसन्धान हुँदा श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएकोले घुस लिने र दिने दुवैविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। मुद्दाको बिगो ७८ लाख रपैयाँ दावी गरिएको छ । सोही प्रकरणसँग जोडिएका राज नारायण पाठकका भाइ शुभ नारायण पाठकले रिसवत लिएको भनिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिंग कलेजसंग सम्वन्धित नरहेकोले निजले रिसवत लिएको भनिएको सम्वन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णय समेत गरिएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार प्रकरणमा मुछिएपछि पाठकले १ महिना अघि आयुक्तपद बाट राजिनामा दिएका थिए ।