चालु आवको नौ महिनामा झण्डै ६२ प्रतिशत राजश्व संकलन
काठमाडौँ, ३ वैशाख । चालु आर्थिक बर्षको नौ महिनासम्म सरकारले कुल पाँच खर्ब ११ अर्ब २२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन गरिएको राजस्वमध्ये कर शीर्षकतर्फ चार खर्ब ६१ अर्ब ९१ करोड र ४९ अर्ब ३१ करोड रुपियाँ गैरकर शीर्षकतर्फको रहेको छ । चालु आवमा आठ खर्ब ३१ अर्ब ३१ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारले राखेको छ । तर हाल सम्म राजस्व सङ्कलन लक्ष्यको ६१.५० प्रतिशत राजश्व संकलन गरेको छ । जस अनुशार अबको तीन महिनामा हरेक दिन करिब तीन अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुशार कुल तीन खर्ब १३ अर्ब ९९ करोड विकास खर्च गर्ने लक्ष्य राखिएकोमा चैतसम्म केवल एक खर्ब नौ अर्ब ४८ करोड रुपियाँ मात्र खर्च भएको छ । यो कुल विकास खर्चको ३४.८७ प्रतिशत मात्र हो । एक खर्ब ५५ अर्ब ७१ करोड वित्तीय खर्च गर्ने लक्ष्य राखिएकोमा त्यसको २९.८२ प्रतिशत अर्थात ४६ अर्ब ४४ करोड रुपियाँ मात्र खर्च भएको छ । यसले समयमै विकास बजेट खर्च नहुँदा आर्थिक वर्षको अन्त्यमा शीर्षक नै रकमान्तर गरी अन्य शीर्षकमा खर्च हुने सभावना बढाएको छ । लक्ष्य अनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गराउन प्रत्येक दिन करिब आठ अर्ब रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ ।