नुवाकोट र मकवानपूर लगायत जिल्लामा आगजानी र बम विष्फोट
काठमाडौं,१५ साउन । अज्ञात समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी आगजानी गरेका छन् । मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बाख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विप्लव समूहले आव्हान गरेको बागमती बन्दको पूर्वसन्ध्यामा हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभञ्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।यसै गरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ । रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् । यसै गरी बन्दका कारण शैक्षिक सस्था पसल उद्योग धन्दा समेत आशिक रुपमा प्रभावित भएका छन् । सावरी यातायत समेत पातलो रहेको छ ।