नेप्सेमा ५.६१ अंकले गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं, २६ कात्तिक । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्सेमा गिरावट आएसँगै कारोबार रकममा पनि कमी आएको छ । हिजो दोहोरो अंकले वृद्धि भएको नेप्से आज ५.६१ अंकले गिरावट आई ११३९.९६ विन्दुमा रोकिएको छ ।
हिजो झण्डै ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकममा पनि गिरावट आएको छ । आज हिजोको तुलनामा १७ करोड रुपैयाँले कारोबार रकममा कमी आई ३७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज एक सय ६१ कम्पनीको १० लाख ८२ हजार ८ सय १५ कित्ता सेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएकोछ । उक्त डिस्टिलरीको ६ करोड ९७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै बढी सेयर कारोबार हुने दोस्रोमा एनएमबी बैंक रहेको छ । एनएबीको ६ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हिजो एनएमबीको सबैभन्दा बढी १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
नेप्सेमा सूचिकृत ११ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य १० समूहको उपसूचकमा गिरावट आएको छ । आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९.१८ अंकले वृद्धि भएको हो ।