उर्जा क्षेत्रमा बैदेशिक लगानी बढाउनुपर्नेमा गभर्नर नेपालको जोड
काठमाडौं, ६ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले तीब्र आर्थिक विकासका लागि उर्जा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित पावर समिट २०१९ को दोस्रो दिनको पहिलो सेसनमा गभर्नर नेपालले उर्जामा गरेको लगानीले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा बैदेशिक लगानी बढ्नु पर्नेमा जोड दिए ।
पछिल्लो वर्षहरूमा नेपालले तिब्र आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको र त्यो लक्ष्य हाँसिल गर्न उर्जा क्षेत्रनै लगानीको लागि उपयुक्त रहेको उनको भनाई छ । राष्ट्र बैंकले उर्जा क्षेत्रमा लगानी बढाउँन के गर्न सकिन्छ भनी विभिन्न अध्ययन गरिरहेको पनि गभर्नर नेपालले जानकारी दिए ।
त्यस्तै छलफलमा सहभागी अन्य वक्ताहरूले नेपालको उर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको बताए । तर, बेला–बेलामा आईपर्ने प्राकृतिक प्रकोपले केही समस्या परेको उनीहरुको भनाई छ । लगानीकर्ताहरूले स्वच्छ उर्जा उत्पादनमा लगानी गर्ने पनि प्रतिवध्दता जनाएका छन् ।
त्यसैगरी चीनको सिसिजे कम्पनीका प्रतिनिधि छुई हुईले नेपाल सरकारले ल्याएको कर प्रणालीले लगानीकर्तालाई समस्या निम्त्याएको बताईन । उनले सरकारको काम गर्ने शैलीमा परिवर्तन ल्याउनु पर्ने धारणा राखिन ।