Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साझासँग पैसा फिर्ता लिएर विद्युतीय बसका किन्न स्पेशिफिकेशन बनाइँदै

साझासँग पैसा फिर्ता लिएर विद्युतीय बसका किन्न स्पेशिफिकेशन बनाइँदै

काठमाडौं, १५ फागुन । साझासँग पैसा फिर्ता लिएको झण्डै एक महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बसका खरिदका लागि स्पेशिफिकेशन तयार पार्न थालेको छ । साझा यातायात सहकारीले सरकारबाट सेयर लगानीका रुपमा पैसा पाएपछि स्पेशिफिकेशन तयार गर्ने काम अघि बढाएको थियो । साझाले विद्युतीय बस खरिद गर्ने क्रम अघि बढाएपछि तत्कालीन मन्त्री रघुवीर महासेठले आपूर्तिकर्ता आफूले छान्ने तयारी गरेका थिए । महासेठको हस्तक्षेपपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्युतीय बस खरिद प्रक्रिया रोकेको थियो ।
माघको पहिलो साता साझा यातायात सहकारीलाई विद्युतीय बस किन्न दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने सरकारले निर्णय गरेको थियो । यसपछि मन्त्रालय आफैं विद्युतीय बस खरिदका लागि लागेको छ ।

साझालाई मन्त्रिपरिषद्कै निर्णयबाट गत असारमा ३ अर्ब रुपैयाँ दिइएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् रकम निकासा गरेको थियो । तर तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफूले तोकेको आपूर्तिकर्तामार्फत् विद्युतीय बस खरिद गर्न दबाब दिएपछि साझाले बसको स्पेशिफिकेशन तयार गर्ने समयावधि लम्ब्याउँदै लगेको थियो । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नै स्पेशिफिकेशन तयार गरी खुला बोलपत्रमार्फत् बस खरिद गरिने मन्त्री वसन्त नेम्बाङले बताए ।

सरकारले वातावरण मैत्री ग्रीन ट्रान्सपोर्ट प्रवद्र्धनमार्फत् यातायात क्षेत्रमा पेट्रोलियम पदार्थको खपत घटाउँदै जाने रणनीति लिएको छ । सोही अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि सरकारले रकम उपलब्ध गराएको थियो । यो रकम साझामा सरकारको सेयरका रुपमा लगानी गर्ने सरकारले निर्णय गरेको थियो । यद्यपि सेयरमा गरिएको लगानी विधिवत् रुपमा सेयर बेचेर फिर्ता हुनुपर्नेमा सरकारले बलमिच्याइँ गरी फिर्ता लिएको हो । जसको कारण नेकपा अध्यक्ष प्रचण्ड र साझा यातायात सहकारीका अध्यक्ष कनकमणी दीक्षितको तिक्ततापूर्ण सम्बन्ध रहेको बताइन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x