‘विश्वव्यापी स्वास्थ्य संकटले आर्थिक वृद्धिदरमा चाप पर्न सक्छ’
काठमाडौं, २२ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले नोभेल कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी स्वास्थ्य संकटले नेपालको आर्थिक वृद्धिदरमा समेत चाप पार्ने बताएका छन् । नोभेल कोरोना भाइरसले विश्वव्यापी रुपमा सामाजिक र आर्थिक प्रभावहरु उत्पन्न भइरहेका छन् ।
यो स्वाथ्य संकटले सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर पारेको छ । कतिपय होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले कर्मचारी कटौतीको नीति अंगीकार गरेका छन् । कर्मचारीलाई आधा तलब दिनेगरी समस्या समाधान नभएसम्म बिदामा बस्न आग्रह गरेका समाचारहरु आइरहेका छन् । होटल, रेष्टुरेन्ट र एयरलाइन्स सबैभन्दा मारमा परेका छन् ।
सन् २०२० मा बाह्य पर्यटकको संख्या २० लाख पु¥याउनेगरी शुरु भएको नेपाल भ्रमण वर्ष प्रभावित भएको छ । सरकारले यो कार्यक्रम रद्द गरिसकेको छ ।
सरकारले भने चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताउँदै आएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले भने ६.५ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरेका छन् । यद्यपि यो लक्ष्य भेट्न अब कठिन हुने निश्चितप्राय छ ।
विश्व बैंकले भर्खरै १२ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ । यसमध्ये ६ अर्ब अमेरिकी डलर निजी क्षेत्रको सञ्चालन र रोजगारी कटौती नहोस् भनेर विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगमबाट परिचालन गरिन लागेको छ ।
विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) मार्फत् न्यून आय भएका मलुकहरुका लागि अनुदान समेत घोषणा गरिसकेको छ ।
जनस्वास्थ्य कार्यक्रम, औषधी र चिकित्सा उपकरण उद्योगहरु तथा कोरोना भाइरसका कारण प्रभावित उद्योगहरुलाई लक्षित गर्दै आवश्यकता अनुसार राष्ट्रहरुले विश्व बैंकको सहयोग लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत् कोरोना भाइरसका कारण प्रभावित भएका उद्योग तथा व्यवसायले लिएको ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने उल्लेख गरेको छ । कोरोना भाइरसका कारण पर्यटन र एयरलाइन्स व्यवसायका अतिरिक्त आपूर्ति व्यवस्था प्रभावित भई विश्वभरी नै असर देखापर्न शुरु भएको छ ।