८० देशमा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि, औषधिको अभाव हुने त्रास
काठमाडौं, २२ फागुन । विश्वमा जेनेरिक औषधिको अभाव हुने त्रास बढेको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण फैलिरहने क्रम जारी रहेका बेलामा भारतले औषधि बनाउन प्रयोग हुने २६ प्रकारका सामाग्री र यसबाट उत्पादित औषधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
भारत जनेरिक औषधिको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । तर उसले धेरैजसो औषधि बनाउने कच्चा पदार्थ चीनबाट आयात गर्ने गरेको छ । कोरोना भाइरसको महामारीका कारण चीनमा औषधि बनाउन प्रयोग हुने कच्चा पदार्थ बनाउने कारखाना पनि बन्द छन् ।
खुलेका कारखानाहरुले पनि उत्पादन घटाएका छन् । महामारी जारी रहे औषधि निर्माता उद्योगले अभाव झेल्नुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । यस्तोमा भारतले निर्यातमा रोक लगाएपछि विश्वमा यी औषधिको अभाव चुलिने त्रास बढेको हो ।
‘प्रतिबन्ध लगाइएका औषधिमा प्यारासिटामोल, टिनिडाजोल र इरिथ्रोमाइसीन जस्ता एन्टीबायोटिक, हर्मोन प्रोजेस्टरोन र भिटामिन बी १२ पनि परेका छन् । कच्चा पदार्थको अभाव हुन थालेपछि बजारमा औषधिको मूल्य बढ्न थालिसकेको छ ।
अहिलेसम्म युरोप, अमेरिका र अफ्रिका लगायतका ८० देशमा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
भाइरसको संक्रमणले ९० हजारभन्दा बढी व्यक्तिलाई भेटेको छ भने यसका कारण ३ हजार २ सयको मृत्यु भएको पुष्टि भइसकेको छ ।