सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउदै, आज एकै दिन तोलामा १८ सयको बृद्धि
काठमाडौ, २३ फागुन । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ८० हजार ७ सयमा कारोबार भइरहेको सुन आज बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो ।
पछिल्लो ५ दिनमा मात्र सुनको मूल्य ४५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दाको प्रभाव नेपाली बजारमा परेको हो । शक्तिशाली राष्ट्रहरुबीचको टकराव, प्राकृतिक प्रकोप लगायतका कारण सुनको मूल्यमा तीब्र उतार चढाव हुने गर्छ ।
जुनसुकै बेला सहजै बेच्न सकिने भएकाले सुनलाई नगदजस्तै तरल पुँजीका रूपमा लिने गरिन्छ । सोही कारण यस्तो समस्याका बेला लगानीकर्ताहरुले सुनलाई सुरक्षित लगानीको रुपमा लिने हुदाँ माग बढ्न जाने र त्यसले मूल्यमा प्रभाव पर्ने व्यवसायी बताउछन् ।
पछिल्लो समय कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र तरंगित बनेको छ । अहिले कुनैपनि क्षेत्रमा राम्रो व्यापार छैन । यो अवस्थामा लगानीकर्ताहरुले सुनमा लगानी बढाएकाले मूल्य बढ्न गएको हुनसक्ने जानकार बताउछन् । बजार अस्थिर रहेकाले अझै मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।