Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना प्रकोपले थलिन थालेपछि व्यवसायीले मागे राहत प्याकेज

कोरोना प्रकोपले थलिन थालेपछि व्यवसायीले मागे राहत प्याकेज

काठमाडौं, २३ फागुन । राजधानीको व्यापारिक केन्द्र न्यूरोड सुनसान हुन थालिसक्यो । सडकमा सार्वजनिक सवारीसाधनको उपस्थिति क्रमशः पातलिदैंछ । सपिङ मलदेखि सिनेमा हलसम्म व्यापार डामाडोल हुन थालेको छ ।

विश्वव्यापी स्वास्थ्य संकटका रुपमा देखिएको नोभेल कोरोना भाइरसको संक्रमणले आधा विश्वलाई सताएको छ । नियन्त्रण हुने आशा गर्दागर्दै पछिल्लो एक सातामा संक्रमण दोब्बर भएपछि नेपालमा सतर्कता अपनाउन थालेका छन् । भीडभाड, सभासम्मेलन नगर्न सरकारले नै यसै साताको पूर्वाद्र्धमा आग्रह गरेको हो ।

सबैभन्दा पहिले पर्यटन क्षेत्र र एयरलाइन्समा कोरोना भाइरसको असर देखिएको थियो । होटलहरुको अकुपेन्सी त आधाभन्दा कम भइसकेको छ । नेपाल होटल संघका उपाध्यक्ष विनायक शाहका अनुसार, भ्रमण वर्ष २०२० को लागि एक खालको तयारी भैरहेकोमा ठीक विपरित अवस्था आइलाग्यो । करिब नाकाबन्दीकै जस्तो अवस्थामा नेपाली अर्थतन्त्र धकेलिने पूर्वाभास रहेको बताउँछन् उनी ।

नोभेल कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै समस्या छ । विश्वव्यापी आपूर्ति प्रणालीमा असर परेको छ । खण्डित उत्पादन विधि अर्थात् विभिन्न देशबा पार्टस् जम्मा गरेर एक ठाउँमा एसेम्बलिङ हुने औद्योगिक उत्पादनलाई आपूर्ति प्रणालीको असरले नराम्ररी गाँजेको छ । अमेरिकाको जनरल मोटर्सदेखि जापानका कार कम्पनी र दक्षिण कोरियामा समेत कार उत्पादन बन्द भैसकेको छ । हवाइ कम्पनीहरुले उडान संख्या कटौती गर्दै लगेको धेरै भइसक्यो । उडान गरिरहेका एयरलाइन्सहरुमा पनि विश्वभर नै यात्रु धेरै घटिसकेका छन् ।

नोभेल कोरोना भाइरसले नेपालमा भने निम्न क्षेत्रमा असर पारेको छ ।
– पर्यटन (होटल, रेष्टुरा, ट्राभल र ट्रेकिङ लगायत)
– एयरलाइन्स
– व्यापार (चीनबाट हुने आयात ठप्पप्राय)
– उद्योग (कच्चा वस्तु अभाव)
प्रकोप लम्बिदैं जाँदा औषधी उद्योगहरुले कच्चा वस्तु भित्र्याउने क्रम ठप्पप्राय भएको छ । भूकम्प र नाकाबन्दीपछि तंग्रिदै गरेको अर्थतन्त्रमा पुनः ठूलो धक्का लाग्ने देखिएको छ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्दा पनि अमेरिकी डलरको मूल्य उकालो लागिरहेको छ । डलर बलियो हुँदा नेपालले भने मुद्रास्फितिको चर्को मार खेप्नुपर्नेछ । अहिले नै मुद्रास्फिति करिब ७ प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।

चीनबिनाको आपूर्ति प्रणाली कल्पनाबाहिरको परिस्थिति हो भन्ने अहिलेको संकटले देखाइसकेको छ । यसले भूमण्डलीकरणमा कसरी देशहरु आपसमा गाँजिएका रहेछन् भन्ने छर्लङ्ग पारेको छ ।
विश्व बैंक र एसियाली विकास बैंकले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा भयावह समस्या देखापर्ने बताइसकेका छन् ।

उदीयमान अर्थतन्त्र भनेर चिनिने पूर्वी एसियाका अर्थतन्त्रहरु तहसनहस हुँदै गैरहेका छन् । नेपालले यो झट्का थेग्न सक्छ कि सक्दैन भन्ने प्रश्न निश्चय पनि छ । नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् विश्वव्यापी स्वास्थ्य संकट निम्त्याएको कोरोना भाइरसको प्रकोपले प्रभावित उद्योग, व्यवसायको ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने बताएको छ ।
तर व्यवसायीहरुले भने यो सुविधा पर्याप्त नहुने र असरको गम्भीरता हेरेर सरकारले प्रोत्साहन प्याकेज (स्टीमुलस प्याकेज) घोषणा गर्न ढिलाइ गर्नुनहुने पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन् । सरकारले यो धक्कालाई बेलैमा समाधान नगर्ने हो भने अर्थतन्त्रमा रोजगारी कटौतीको भयावह अवस्था आउने उद्योग, वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x