विद्यार्थीलाई ५०० डलरसम्म पठाउन पाइने, सुन आयात दैनिक १० किलो
काठमाडौं, २१ चैत । कोरोना भाइरसको महामारीका कारण बाह्य मुलुकमा रहेका विद्यार्थी जीवनयापनमा समस्या नहोस् भनेर सरकारले एनओसी (नो अब्जेक्सन लेट) बिना नै केही रकम पठाउन सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । शिक्षा मन्त्रालयबाट विदेश पढ्न जाने विद्यार्थीका लागि जारी गरिने नो अब्जेक्सन लेटर बिना नै सरकारको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले ५०० अमेरिकी डलरसम्म पठाउन दिने व्यस्था कार्यान्वयनमा ल्याएको हो ।
त्यस्तै, साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुको हकमा भने ३०० युरो वा सो बराबरको विदेशी परिवत्र्य मुद्रा पठाउन सकिने नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको परिपत्रमा उल्लेख छ । पछिल्ला वर्षहरुमा साइप्रस अध्ययनका बहानामा जाने विद्यार्थीहरुको संख्या बढीरहेको छ । उच्च शिक्षाको बहाना गर्दै विकसित मुलुकमा कतिपय कामको खोजीमा समेत जाने गरेका छन्, अथवा पढाइको बहाना भएपनि मुख्य उद्देश्य काम खोज्नु नै हुन्छ ।
शिक्षा मन्त्रालयको तथ्यांक अनुसार, २ हजार ३ सय दुई विद्यार्थीले आ.व. २०७५–७६ मा साइप्रसमा अध्ययनका लागि अनुमति लिएका छन् । त्यो भन्दा अघिल्लो वर्ष यो संख्या हजार भन्दा कम थियो । अध्ययनका लागि विदेशिएका मुलुकमा कोरोना महामारीका कारण काम पाउने अवस्था नरहेपछि कतिपय विद्यार्थी अलपत्र परेका छन् । उनीहरुलाई केही समय गुजारा गर्न सहज होस् भनेर नेपालबाट सहज रुपमा पैसा पठाउने व्यवस्था गरिएको हो ।
त्यस्तै, सरकारको घोषणा अनुसार सुनको आयात दैनिक १० केजीमा सीमित गरिएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात गर्ने वाणिज्य बैंकहरुलाई परिपत्र गरी दैनिक कोटा यसअघिको २० केजीलाई १० प्रतिशतले घटाएर कन्साइन्मेन्ट बनाउन आग्रह गरेको छ । त्यस्तै, सरकारकै निर्णय अनुसार, राष्ट्र बैंकले नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा, तयारी मदिरा र ५० हजार अमेरिकी डलरमाथिका सवारी आयात समेत प्रतिबन्ध गरेको छ ।