निजी आवास पुनर्निर्माणको कार्यप्रगति ८८ प्रतिशत
काठमाडौं, ११ वैशाख । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति हासिल भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । हालसम्म ४ लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १४५ लाभग्राही निजी आवास पुनर्निर्माण भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।
बुधवार विज्ञप्ति जारी गरी प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ५ लाख ६१ हजार ६५० अर्थात् ७२ प्रतिशत पुगेको बताएको छ । हाल कोरोना भाइरसको महामारीले विश्वव्यापी प्रभाव पारेको र नेपालमा पनि १ महिनादेखि लकडाउन जारी रहेको भन्दै प्राधिकरणले यसबाट पुनर्निर्माणको काम समेत प्रभावित भएको उल्लेख गरेको छ ।
प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ अर्थात् ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । एक हजार ४९२ अर्थात् २० प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।
१४१ सम्पदा पुनर्निर्माणको क्रममा छन् । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १७० सम्पदामध्ये १०१ अर्थात् ५९ प्रतिशत सम्पन्न भएका छन् । बाँकी ५४ अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको बताइएको छ ।