साढे १ वर्ष कैद सजाय माग गर्दै सुलभ अग्रवालविरुद्ध मुद्दा दायर
कठमाडौं, १७ वैशाख । शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनी चैत २५ गते पक्राउ परेका थिए। उनी २० डलरमा आयात गरिएको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दैगर्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो । किर्गिस्ताकाका महावाणिज्य दूत समेत रहेका अग्रवाल झण्डासहितको नीलो प्लेटको गाडीमा सामान राखेर महँगो मूल्यमा बेच्न जाँदा पक्राउ परेका थिए ।
सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मुद्दा दर्ता गरेको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
कालोबजारी ऐनअन्तर्गत उहाँलाई १ वर्षसम्मको कैद सजाय व्यवस्था भएपनि अग्रवाल सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको बताइएको छ । अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत थिए । यद्यपि उक्त घटना लगत्तै परराष्ट्र मन्त्रालयले यो सुविधा निलम्बन गरिसकेको छ ।
सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्वन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ। तर अग्रवालको सम्वन्धमा थप ६ महिना पनि आकर्षित हुने भएकाले जिल्ला अदालतमा उच्चतम सजाय माग गर्दै मुद्दा दायर भएको छ ।