कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग
काठमाडौं, ९ जेठ । कतारमा रहेका नेपाली श्रमिकका लागि कतार सरकारले डेढ करोड बराबरको खाद्यान्न उपलब्ध गराएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकको सहयोगका लागि कतार सरकारले १ लाख ३४ हजार डलर (करीब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यान्न उपलब्ध गराएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यान्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको समन्वयमा नेपाली श्रमिकलाई वितरण भइरहेको उनले बताए ।
कतार सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यान्न संघलाई दिएको गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले जानकारी दिए । कतारमा ३ लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ ।
कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको संघको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले बताएका छन् । यस्तै ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।