७ प्रतिशतको आर्थिक वृद्धि आकाश छुने कुरा गरेका हैनौंः अर्थमन्त्री खतिवडा
काठमाडौं, २५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्न निजी क्षेत्र र पूँजीबजारको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवमा वेविनार भाग लिँदै मन्त्री खतिवडाले निजी क्षेत्रको पूँजी परिचालन गरी आर्थिक वृद्धिको लक्ष्यलाई हाँसिल गर्न सहयोग गर्न आग्रह गरेका हुन् । ७ प्रतिशतको आर्थिक वृद्धि कुनै आकाश छुने कुरा नभएर विगत ३ वर्षको औषतमा पुग्ने लक्ष्य राखिएको उनले बताए । “हामीले ७ प्रतिशतको आर्थिक वृद्धिको कुरा गरिरहँदा आकाश छुने कुरा गरेका छैनौं ।” उनले भने “विगत ३ वर्षको औषतमा पुग्छौं मात्र भनेका हौं ।”
त्यस्तै मन्त्री खतिवडाले उक्त आर्थिक वृद्धिका लागि पूँजी र बचत परिचालन गर्न आवश्यक रहेको जानकारी दिए । निजी क्षेत्रले स्वपूँजीको माध्यमबाट र केही हदसम्म ऋणपत्रको माध्यमबाट पूँजी परिचालन गरी सहयोग गर्नुपर्ने उनको भनाई छ । मन्त्री खतिवडाले भने “खास गरी निजी क्षेत्रलाई स्वपूँजीको माध्यमबाट र केही हदसम्म ऋणपत्रको माध्यमबाट समेत पूँजी परिचालन गर्न तपाईहरुले साथ दिनु भयो भने निजी क्षेत्रको पूँजी पूर्ण रुपमा परिचालन भई हामीले अपेक्षा गरिएको आर्थिक वृद्धि हाँसिल गर्न सहयोग पुग्छ ।”
मन्त्री खतिवडाले कोभिड-१९ का कारण सीमित मुलुकहरु मात्र सकारात्मक आर्थिक वृद्धितिर जाने जानकारी दिए । ती देशहरुमा नेपाल पनि पर्ने उनको भनाई छ । एशियाली मुलुकका सबै क्षेत्रमा पूँजीलाई चलायमान राख्न एक आपसमा प्राविधिक सहयोग गर्न आवश्यक रहेको पनि जानकारी दिए ।
त्यसैगरी धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आगामी दिनमा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यलाई हाँसित गर्ने गरि काम गर्ने बताए ।