महासंघको साधरणसभा साउन अन्तिम साता
काठमाडौं, ८ असार । कोरोना भाइरस महामारीका कारण पछि सारिएको नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति निर्वाचन सहितको साधरणसभा साउन अन्तिम साता हुने भएको छ । महासंघको आइतबारको पदाधिकारी बैठकले साधरणसभा साउनको २५ देखि २८ भित्र गर्ने गरी टुंगो लगाएको छ । साधरणसभाको मिति तोक्दा स्थान समेत पहिचान गरी सदस्यहरुलाई जानकारी गराउनुपर्ने भएकाले ललितपुरमा रहेको हेरिटेज गार्डेन रिसोर्टमा साधरणसभा गर्ने तय भएको छ ।
पदाधिकारी बैठकको यो निर्णयलाई कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्छ । महासंघको विधान अनुसार कुनै विशेष कारणले साधरणसभा ढिलाइ भएमा तीन महिनाभित्र साधरणसभाको टुंगो लगाइसक्नुपर्ने व्यवस्था छ ।
महासंघकी अध्यक्ष भवानी राणाको कार्यकाल चैत २९ मै समाप्त भएको थियो । महासंघले उक्त मितिमा नयाँ कार्यसमितिका लागि निर्वाचन तय गरेको भएपनि लकडाउनका कारण महासंघको निर्वाचन सरेको हो । लकडाउन अघि नै सरकारले महासंघलाई साधरणसभा गरेर भिडभाड नगर्न आग्रह गरेपछि महासंघको निर्वाचन सर्ने निश्चित नै भैसकेको थियो ।
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष रहने प्रावधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालको नेतृत्वमा रहनेछन् । तर अन्य पदमा भने निर्वाचन गर्नुपर्छ । महासंघले विद्यमान अवस्थालाई ध्यानमा राख्दै भौतिक उपस्थितिभन्दा पनि डिजिटल माध्यमबाट समेत निर्वाचन गराउनुपर्ने हुनसक्छ । डिजिटल भोटिङ भएपनि निर्वाचनका सम्पूर्ण काम भने साधरणसभा तोकिएकै स्थानबाट हुनेछ । महामारीको अहिलेको अवस्थामा अन्य पदहरुमा पनि निर्वाचन नगरी सर्वसम्मत कार्यसमिति चयनका लागि समेत प्रयास भैरहेको बुझिएको छ ।