Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

परराष्ट्रमन्त्री र अमेरिकी समकक्षीबीच वार्ता

परराष्ट्रमन्त्री र अमेरिकी समकक्षीबीच वार्ता

काठमाडौं, ११ असार । असार १६ को डेडलाइनमा अमेरिकी अनुदान सहयोग सम्झौता– मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने सरकारको यसअघिको प्रतिवद्धता पुरा नहुने भएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पम्पेओसँग टेलिफोनमा कुराकानी गरेका छन् । पम्पेओसँगको छलफलमा कोभिड–१९ रोकथाम र यसको प्रतिकार्य तथा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सशक्तिकरणका सम्बन्धमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

https://twitter.com/MofaNepal/status/1275789869592096769


अमेरिकी विदेश मन्त्री माइक पम्पेओले पनि यससम्बन्धमा ट्वीट गरेका छन् ।


एमसीसी मार्फत् अमेरिकाले दिन लागेको ५० करोड अमेरिकी डलरको अनुदान सहायता परिचालनका लागि सम्झौता संसदीय अनुमोदनको पर्खाइमा छ । संसदीय अनुमोदनको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र तीव्र मतभेद छ । यसैबीच, १० गते देखि नेकपाको स्थायी समिति बैठक बसिरहेको छ र शुक्रबार पुनः बैठक हुनेछ ।
तर सभामुख अग्निप्रसाद सापकोटाले भने एमसीसी अनुमोदन गर्ने भनिएको असार १६ को डेडलाइन छलेर असार १७ गते मात्रै संसद्को बैठक बोलाएका छन् । एमसीसीलाई लिएर नेकपाभित्र तीव्र रस्साकस्सी चलिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी समकक्षी बीचको संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेकपाले एमसीसीका सम्बन्धमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा अध्ययन कार्यदल नै बनाएर उक्त सम्झौता संशोधन नगरी जस्ताको तस्तै अनुमोदन गर्न नसकिने प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई बुझाएको छ । उक्त अध्ययन कार्यदलका सदस्य समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने फरक मत राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई संसद्बाट अनुमोदन गराउन प्रयास गरिरहेका छन् भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड यसको विरोधमा छन् । संसद्मा दर्ता भैसकेको सम्झौतालाई तत्कालीन सभामुख कृष्णबहादुर महरा र अहिलेका सभामुख अग्नि सापकोटाले कार्यसूचीमै ल्याएका छैनन् । सरकारले भने अनावश्यक प्रचार गरी अमेरिकी अनुदान सहायता रोक्दा यसले अन्तर्राष्ट्रिय सहायता परिचालनमा ठूलो प्रभाव पर्न सक्ने भन्दै अनुमोदनका लागि पहल गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x