बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिश
काठमाडौं, २४ असार । संसद्को अर्थसमितिमा बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिश भएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने या नदिने भन्ने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिश गर्दै प्रतिवेदन बुझाएको छ । यससँगै बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा जारी लामो समयदेखिके विवाद किनारा लागेको छ ।
नेपाल धितोपत्र बोर्डको नीतिगत व्यवस्था अनुसार बैंकहरुले ब्रोकरको काम गर्ने सहायक कम्पनी खोलेर नेप्सेहुँदै नेपाल राष्ट्र बैंकसँग समेत स्वीकृति लिइसकेको अवस्थामा अर्थ समितिले तत्काल लाइसेन्स दिने प्रक्रिया अघि नबढाउन भन्दै नेप्सेलाई निर्देशन दिएको थियो । अर्थ समितिको निर्देशनसँगै नेप्सेले लाइसेन्स दिने प्रक्रिया स्थगित गरेको थियो ।
प्रक्रिया स्थगित भएसँगै समितिले अध्ययन गर्न उपसमिति गठन गरेको थियो । २ महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेड दिएको उपसमितिले ११ महिनापछि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिए फरक नपर्ने आशयसहितको प्रतिवेदन बुझाएको उपसमितिकी संयोजक रामकुमारी झाँक्रीले बताइन् ।