Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्न दौड शुरु

काठमाडौं, २ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यसै महिना २९ गते सकिने भएपछि प्राधिकरणको आगामी कार्यकारी निर्देशक बन्न दौडधुप शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा मन्त्रीमण्डल पुनर्गठन गरी दुई वर्ष मन्त्री भैसकेका केहीलाई बिदा गर्न लागेकाले उर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय पूर्व माओवादी या पूर्व एमाले कसको भागमा पर्नेछ भन्ने यकिन छैन । यद्यपि आकर्षक पद मानिएको नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका लागि भने पूर्व माओवादी र एमाले दुवै खेमा निकटका व्यक्तिहरु लागेका छन् । त्यसो त कुलमान घिसिङ आफैं पनि थप एक कार्यकाल दोहोर्याउने ध्याउन्नमा छन् ।
वर्तमान उर्जामन्त्री वर्षमान पुनसँग घिसिङको निकटता छैन । तरपनि लोडसेडिङ हटाएर लोकप्रिय बनेका उनलाई मन्त्री पुनले निरन्तरता दिए । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषद्ले तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को प्रस्तावमा २०७३ साल भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । लोडसेडिङ हटाएर लोकप्रिय बनेका उनी सञ्चारमाध्यममा छाइरहे । उनका आलोचकहरुले उनलाई मिडिया म्यानेजमेन्टबाट ‘हिरो’ बनेको तर ठेक्का व्यवस्थापनमा ‘जीरो’ हुँदा उनको समयमा प्राधिकरणले अगाडी बढाएका परियोजनाहरुको प्रगति राम्रो नभएको र एक्युरल बेस्ड एकाउन्टीङ लागू गरी विद्युत् खपत्का आधारमा महशुल असुली नै नभइ बिलिङका आधारमा आम्दानी देखाएकाले प्राधिकरणको अभूतपूर्व नाफा सम्भव भएको हो । पहिले क्यास बेस्ड अकाउन्टीङ हुन्थ्यो भने अहिले एक्युरल बेस्ड अकाउन्टीङ हुन्छ । ‘बिलिङ हुनेबित्तिकै प्राधिकरणको खातामा पैसा आइहाल्दैन । त्यसका लागि त्यो बिल असुली हुनुपर्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अहिले कुलमानजीले लागू गरेको अकाउन्टीङ प्रणाली अनुसार बिल काट्ने बित्तिकै त्यति रकम प्राधिकरणको आम्दानीमा देखिन्छ । यथार्थमा त्यो सबै असुल भएको हुँदैन ।’ विगतमा सरकारी कार्यालयहरुले नै विद्युत् महशुल नतिरेर समस्या भएको थियो । प्राधिकरणको ठूलो बक्यौता असुली गर्न बाँकी छ । कुलमान घिसिङ भाग्यमानी हुन् । उनको प्राधिकरणमा नियुक्तिसँगै ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय विद्युत् प्रसारण लाइन तयार भयो भने भारतका अन्य ठाउँहरुबाट आयात गर्ने विद्युत् पनि बढाइयो । घिसिङले औद्योगिक क्षेत्रमा आपूर्ति भइरहेको विद्युत् कटाएर घरयासी क्षेत्रलाई दिए र आम मानिसहरुबाट लोकप्रियता हासिल गर्ने सोचले अघि बढे । त्यसो त उनले माग र आपूर्तिको राम्रो व्यवस्थापन गरेका हुन् । नेपाली सामान्य पिकिङ गर्न सकिने प्रकृतिकै आयोजनालाई पनि जति सम्भव हुन्छ पानी जम्मा गर्न लगाएर साँझ–बिहान लोड बढी हुने समयमा चलाउन अह्राए । उनको लोकप्रियता पनि पूर्व उर्जामन्त्री गोकर्ण विष्टकै जस्तो हो । उर्जामन्त्री भएर विष्टले त्यस्तो उत्पात् केही गरेका थिएनन् । बरु महशुल नतिरेको भन्दै सरकारी कार्यालयको लाइन काट्ने अभियानको सांकेतिक काम उनले सडक विभागबाट शुरु गरेका थिए । उनी वर्षायाममा उर्जामन्त्री थिए । लोडसेडिङ भएन, आम मानिसको ध्यान खिच्न सरकारी कार्यालयको लाइन काट्ने काम गरे । सञ्चारमाध्यमको राम्रो उपयोग गरे र लोकप्रिय भए । उनलाई व्यंग्य गर्दै एकपटक पूर्व उर्जामन्त्री (स्व.) पोष्टबहादुर बोगटीले भनेका थिए, ‘गोकर्णजी वर्षाको उर्जामन्त्री, म हिउँदको । बाँकी कुरा आफैं विश्लेषण गर्नुहोला ।’ घिसिङको लोकप्रियता पनि सोही खालको हो । उनको व्यवस्थापन केही चुस्त भएको हो तर उत्पातै मच्चाएका भने होइनन् ।
तर विद्युत् आयोजना, प्रसारणलाइन आयोजनाको प्रगतिका सम्बन्धमा उनको काम छरपस्ट छ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणकै प्रसारणलाइन गुरुयोजना अनुसार आएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन परिचालन गर्न आवश्यक छ या छैन भन्ने विषयमा पनि उनको स्पष्ट दृष्टिकोण आएको छैन । उनी काम भन्दा पनि बकम्फुसे लोकप्रियताको पछि लागेकाले उनलाई प्राधिकरणबाट बिदा गरी अझै सक्षम व्यक्तिलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिनुपर्ने उनी इतर पक्षको जोड छ । लोडसेडिङ हटाएर तत्कालीन सरकारलाई जस लिने वातावरण बनाएकोमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने उनीप्रति सकारात्मक छन् । प्रचण्डले त्यतिबेला कुलमान घिसिङजस्तो काबिल व्यक्तिलाई छनौट गरेर जिम्मेवारी दिएकाले नै लोडसेडिङ हटाउन सम्भव भएको भाषण पनि गर्ने गर्थे । यद्यपि मन्त्रीमण्डल पुनर्गठनमा उर्जा मन्त्रालय कसको भागमा पर्ने भन्ने यकिन छैन ।
को–को छन् दौडमा ?
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले पनि इच्छा देखाएका थिए । तर उनलाई सरकारले पुनर्निर्माणकै काममा केन्द्रित हुन भनेपछि उनले लगानी बोर्डको सीईओको प्रतिस्पर्धाबाट स्वेच्छाले बाहिरिए भने प्राधिकरणको दौड पनि छाडेको बुझिएको छ । ज्ञवाली नेकपाका महासचिव विष्णु पौडेल निकट मानिन्छन् ।
प्राधिकरण मातहतकै इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य प्राधिकरणको कार्यकारी निर्देशकका लागि बलिया दाबेबार हुन् । आचरण, दक्षता, कार्यक्षमता सबै हिसाबले उनी सबल र योग्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । उनलाई पूर्व एमाले समूहको साथ रहेको छ । त्यस्तै प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक (डीएमडी) हरराज न्यौपाने पनि कार्यकारी निर्देशक बन्ने दौडलमा लागेका छन् ।
उर्जामन्त्री वर्षमान पुनसँग निकट रहेका विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहले पनि प्राधिकरणमा आउन इच्छा देखाएका छन् । मन्त्री पुनसँग व्यवसायिक रुपमा उनको निकटता बढेको हो । काम गर्ने शैली र निर्णय क्षमताका आधारमा पुनले भने सिंहलाई नै रुचाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x