कोरोना कोषबाट १ अर्ब ९ करोड खर्च, सहयोग जुट्ने क्रम घट्यो
काठमाडौं, ३ भदौ । सरकारले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषबाट १ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । कोष स्थापनादेखि हालसम्म रू. २ अर्ब ७३ करोड ५८ लाख जम्मा भएकोमा उक्त रकम खर्च भएको महालेखा नियन्त्रक कार्यालयले बताएको छ । कोषबाट संकलिन रकम विभिन्न स्थानिय तह तथा प्रदेश सरकारमा क्वारेन्टिन व्यवस्थापन, आईसोलेसन निर्माण तथा स्वास्थ्य सामग्री खरिदको लागि प्रयोग हुँदै आएको छ ।
कार्यालयका अनुसार कोषको रकम हाल बचत १ अर्ब ६४ करोड रुपैयाँ बचत रहेको छ । यसबाट प्रदेश तथा स्थानीय तहलाई कोरोना नियन्त्रण प्रयोजनका लागि थप सहयोग उपलब्ध गराइने भएको छ । प्रदेश तथा स्थानीय तहले कोरोना नियन्त्रणमा बजेट नभएको भन्दै कोषसँग हाल ४५ करोड माग गरेका छन् । कार्यालयले यसअघि खर्च भएको रकम कोरोना नियन्त्रणका लागि स्थानीय तह र प्रदेशका अस्पताललाई उपलब्ध गराएको जानकारी दिएको छ ।
संक्रमितको उपचार र महामारी नियन्त्रणका लागि सरकारले शुरुवाती ५० करोड रुपैयाँ राखेर केन्द्रीय राहत कोष स्थापना गरेको थियो । कोष स्थापनाको पहिलो ५ दिनमै विभिन्न संघसंस्थाले कोषमा रू. १५ करोड ३१ लाख सहयोग गरेका थिए । यद्यपि पछिल्लो समय कोषमा सहयोग गर्ने दाताहरूको संख्य न्यून हुँदै गएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ठूलो रकम माग भए पनि कोषमा पर्याप्त रकम संकलन भएको बताइएको छ ।
सरकारले सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि वैशाख अन्तिमसम्म कोषमा २ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको थियो । कोषमा जम्मा भएको रकमबाट सरकारले स्वास्थ्य सामग्री खरीद गरिने घोषणा गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद प्रक्रियामा सरकारका विभिन्न निकाय नै विवादित बनेपछि सहयोग संकलन हुने क्रम घटेको हो । जेठयता कोषमा रकम जम्मा हुन छाडेको र त्यसयताका ३ महिनामा कोषमा जम्मा रू. २० करोड संकलन भएको बताइएको छ ।