नेपाल–चीन व्यापार : आयात ११.४८ प्रतिशतले खुम्चिँदा, निर्यातमा ४४ प्रतिशतको कमी
काठमाडौं, २७ भदौ । नेपाल–चीन व्यापारमा गत आर्थिक वर्ष (आव)मा निकै असन्तुलन देखिएको छ । कोरोना महामारीका कारण चीनसँगका नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित भएको छ । यसले स्वाभाविक रूपमा चीनसँग मुलुकको आयात–निर्यात घटेको छ । तर स्मरणीय के छ भने, अघिल्लो आवको तुलनामा गत आवमा आयातभन्दा निर्यात तीन गुणा बढी प्रतिशतले घटेको छ ।
गत आवमा चीनबाट १ खर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ । अघिल्लो आवमा २ खर्ब ५ अर्ब ५१ करोड बराबरको आयात भएको थियो । यस्तै गत आवमा नेपालबाट १ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु चीनतर्फ निकासी भएको छ भने अघिल्लो आवमा २ अर्ब १० करोड बराबरको निर्यात भएको थियो ।
विगत दुई आर्थिक वर्षको तथ्यांक हेर्दा गत वर्ष चीनबाट हुने आयात ११.४८ प्रतिशतले खुम्चिएको देखिन्छ । जब कि सोही अवधिमा नेपालबाट चीनतर्फको निर्यातमा भने ४४ प्रतिशतको कमी आएको छ । वर्षेनि चीनसँग नेपालको व्यापार घाटा ठूलो अंकले बढेको छ । गत आवकै तथ्यांकले पनि नेपालले उत्तरी छिमेकी मुलुकसँग ९९ अर्ब ७४ करोडको व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागका अनुसार नेपाली व्यवसायीले चीनसँगको व्यापारमा विशेषगरी लसुन, प्याज, तरकारी, मसला, खाद्यान्न, फलफूल मासुजन्य पदार्थका साथै लत्ताकपडा कम्प्युटर, टेलिभिजनलगायत सामग्री आयात गर्ने गरेका छन् । यस्तै नेपालबाट खाद्य तथा कृषिउपज, हस्तकलाका सामग्री, गलैंचा, उनी, पश्मिना, कफी, जडीबुटी लगायत वस्तु निर्यात हुने गरेको छ ।