पुनर्निमाणको जानकारी दिने सूचना प्रणाली निर्माण
काठमाडौं, ९ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अनुगमन सूचना प्रणाली निर्माण गरी आज सार्वजनिक गरेको हो । यो प्रणालीमा भूकम्प प्रभावित ३२ जिल्लास्थित स्थानीय तहका वडामा पुनर्निर्माणमा लागेका इञ्जिनियरले तथ्यांक राख्न सक्नेछन् ।
यसका लागि इञ्जिनियरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइनेछ । कार्यस्थलबाट इञ्जिनियरले राखेको सूचनालाई सम्पादन भने प्राधिकरणको केन्द्रले मात्र गर्न सक्नेछ । प्रणाली सार्वजनिक गर्नुहुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनर्निर्माणमा विनियोजन गरिएको खर्चको सदुपयोग कसरी भइरहेको छ र प्रगति कति भएको छ भन्ने थाहा पाउन सहयोग मिल्ने बताए ।
पुनर्निर्माणलाई पारदर्शी, जवाफदेही र सुशासनयुक्त बनाउन यो प्रणालीले सहयोग उनले बताए । यो प्रणालीमा सूचना राख्नका लागि इञ्जिनियरलाई तालीम दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्रणालीमा निजी आवास, सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थालगायत सबै किसिमका संरचना पुनर्निर्माणको तथ्यांक समावेश गरिनेछ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको प्राधिकरणले जनाएको छ । हालसम्म एक लाख निजी आवास पुनर्निर्माण भइसकेका छन् । सवा तीन लाख घर पुनःनिर्माण शुरु भएको छ । सात लाख ६७ हजार लाभग्राही प्रमाणीकरण भएकामा एक लाखले अनुदान सम्झौता गरेका छैनन् ।