कालंगा जलविद्युत् आयोजना अन्तिम चरणमा, चैतदेखि उत्पादनको तयारी
बझाङ, १७ फागुन । निजीक्षेत्रको लगानीमा निर्माण भइरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालंगा जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन ६५ मेगावाट क्षमताको उक्त आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ ।
१० अर्ब लागत अनुमान गरिएको आयोजनाको आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माण सकिएको छ । ९० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले यही चैतमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
सन् २०१७ देखि निर्माण शुरू भएको आयोजनाले २०२० भित्रै काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । भूगोलले साथ नदिँदा निर्माणमा ढिलाइ भएको आयोजना कम्पनीले बताएको छ । आयोजनाको विद्युत्गृह निर्माण, बाँध, सुरुङ र पेनस्टक पाइप जडान भइरहेकोे छ । टनेल निर्माणलाई अन्तिम रूप दिनुका साथै विद्युत्गृहमा विद्युतीय उपकरण जडानको काम भइरहेकाले समग्रमा ९० प्रतिशत आयोजनाको काम सकिएको आयोजनाका प्रमुख पुष्प चित्रकारलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
सन् २०२० भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीले पारेको प्रभाव, भौगोलिक विकटता र वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि आयोजना ढिलाइ भएको उनको भनाइ छ । काममा ढिलाइ हुँदा लागत पनि बढेको छ ।
जलविद्युत् आयोजनाका निर्माणका लागि ७५ प्रतिशत बैंकको लगानी र १५ प्रतिशत प्रतिष्ठत व्यापारीको लगानी छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो प्रदेशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको आयोजनाको दाबी छ । प्रक्रियामै समय लाग्ने भएकाले शेयर निष्कासनमा केही ढिलाइ हुने बताइएको छ ।