कोभिडअघिकै लयमा वैदेशिक व्यापार, आयात–निर्यात दुवै बढ्यो
काठमाडौं, ८ चैत । कोरोना महामारी तुलनात्मक रूपमा कम भएर आर्थिक व्यावसायिक गतिविधि बढ्न थालेसँगै मुलुकको वैदेशिक व्यापार पनि कोभिडअघिकै लयमा फर्किएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
विभागका अनुसार फागुन मसान्तसम्ममा नेपालको आयात र निर्यात गत आवको सोही अवधिको तुलनामा बढेका छन् । आवको ८ महिना अवधिमा निर्यात व्यापार ७.८४ प्रतिशतले बढेको छ भने आयातमा २.१४ प्रतिशत वृद्धि देखिएको छ ।
फागुन मसान्तसम्ममा मुलुकबाट ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवको सोही अवधिमा यो ७४ अर्ब ९० करोड ७९ लाख रुपैयाँ बराबरको थियो । यस्तै सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आवको फागुनसम्ममा आयात व्यापार ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको थियो ।
सो अवधिमा निर्यात भएका वस्तुको अग्रस्थानमा सोयाबिन तेल रहेको छ । आठ महिनामा मुलुकबाट २३ अर्ब १२ करोड रुपैयाँको सोयाबिन तेल निकासी भएको छ । यसैगरी ४ अर्ब ९१ करोडको अलैंची, २ अर्ब ६६ करोड रुपैयाँको चिया, २ अर्ब ५० करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । नेपालमा आयात भएका वस्तुको अग्रस्थानमा भने पेट्रोलियम पदार्थ रहेको छ । सो अवधिमा ६८ अर्ब ६५ करोड रुपैयाँ बराबरको पेट्रोल, डिजेल तथा हवाई इन्धन आयात भएको छ ।