Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘पूँजीबजारमा सूचनाको विश्वसनीयता कायम राख्न आवश्यक’

‘पूँजीबजारमा सूचनाको विश्वसनीयता कायम राख्न आवश्यक’

काठमाडौं, २४ चैत । पूँजीबजारमा गलत सूचना प्रवाह बढ्दै गएको भन्दै यसमा विश्वसनीयताको खाँचो रहेको औंल्याइएको छ । मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपाल र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा मंगलवार आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले पूँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताएका हुन् ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पूँजीबजार सम्बन्धी सूचनाले साधारण लगानीकर्तादेखि ठूला लगानीकर्तासम्म प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सूचना प्रवाहमा अत्यन्त संवेदनशील हुनुपर्ने बताए । आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । ‘गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्छ,’ उनले भने ।

बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गर्दै अध्यक्ष ढुंगानाले पूँजीबजारको विकास र विस्तारका लागि आवश्यक सुधार गर्दै जाने बताए । यसका लागि बोर्ड मर्चेन्ट बैंकरहरूसँग आवश्यक छलफल गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाएका छन् । गलत सूचनाले लगानीकर्तालाई नै हानि पु¥याउने भन्दै उनले आधिकारिक स्रोतको पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए । त्यस्तै नेप्सेले आम लगानीकर्तालाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ छ ।

सो अवसरमा सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले गलत सूचना प्रवाह हुँदा आम लगानीकर्तामा नकारात्मक धारणा विकास भएको बताए । प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको उनको भनाइ छ । सिस्टमसँग सम्बन्धित संस्थामात्र जिम्मेवार नभएर भेण्डर कम्पनी र अन्य सेवा प्रदायक कम्पनी पनि जिम्मेवार हुने भन्दै उनले यस्ता विषय सबैले बुझ्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x