घट्न थाल्यो चिनी उत्पादन
काठमाडौं, २८ चैत । चिनी उद्योगहरू बन्द हुन थालेपछि यो वर्ष चिनीको उत्पादन घटेको छ । गत वर्ष क्रसिङ सिजनमा करिब १ लाख २० हजार टन चिनी उत्पादन भएकोमा यो वर्ष गत वर्षको झन्डै आधा मात्रै परिमाणमा चिनी उत्पादन भएको हो ।
चिनी उद्योगहरूले मन्त्रालयलाई पठाएको तथ्यांकअनुसार यसपाली ६५ हजार ३१९ टन मात्रै चिनी उत्पादन भएको छ । यो गत फागुनसम्म संकलन गरिएको तथ्यांक हो । ओ अवधिसम्म उद्योग घाटामा गएको भन्दै पाँचवटा चिनी उद्योगहरू बन्द भएका छन् । ८४ लाख ८६ हजार १५४ क्विन्टल उखु क्रसिङ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको बताइएको छ । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने गरेको बताइन्छ । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।
चिनीको उत्पादन घटिरहेको अवस्थामा आयातमा भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा १३ करोड १८ लाख टन चिनी आयात भएको छ । झन्डै ६ अर्ब ४७ करोड ७५ लाख ९६ हजार रुपैयाँ बराबर रकम बाहिरिएको हो ।