कानुनी समस्या समाधान गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पौडेल
काठमाडौं, २८ चैत । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई व्यवसाय गर्न सहज नहुँने कानुनी समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा निर्यात व्यवसायी महासंघ नेपालको प्रथम साधारणसभामा बोल्दै मन्त्री पौडेलले नेपाली उत्पादन निर्यात गर्दा कुनै पनि कानुनी जटिलता देखिएमा सरकारलाई भन्न आग्रह गरे । आगामी बजेटमा निर्यात क्षेत्र विकासका लागि प्राथमिकता दिने पनि उनले प्रतिवद्धता जनाए ।
‘निर्यातमा सरकारले प्रोत्साहन गर्छ । समस्या कहाँ छन् त्यसको समाधानमा मेरो सहयोग हुन्छ’ उनले भने ।
निजी क्षेत्रलाई हतोत्साहित गरेर सरकार अगाडि बढ्न नचाहेको मन्त्री पौडेलको भनाइ छ । त्यस्तै निजी क्षेत्रमा भएका समस्य समाधानमा सरकारले कन्जुस्याइँ नगरेको पनि उनले बताए ।
सो कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष राम बहादुर गुरूङले कानुनी जटिलता र सरकारी संयन्त्रले समयमा काम नगर्दा वार्षिक निकासीमा वृद्धि हुन नसकेको बताए । अहिले वर्षिक निकासी १ खर्वको पनि हुन नसकेले निर्यात बढाउँन उत्पादन गुणस्तरीय हुनुपर्ने पनि उनको भनाइ छ । निर्यात कार्यविधिलाई समय अनुसार परिवर्तन गर्न नसके निर्यात वृद्धि हुन नसक्ने उनको तर्क छ ।