राष्ट्रिय सहकारी बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिने

काठमाडौं, ९ वैशाख । राष्ट्रिय सहकारी बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिने बताएको छ । गतवर्ष १५ प्रतिशत लाभांश दिएको बैंकले यस वर्ष पनि १५ प्रतिशत नघटाई लाभांश दिने बताएको हो ।
कोरोना महामारीकै बीच पनि बैंकका आर्थिक सूचकहरू सकारात्मक भएकोले शेयरधनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिन सकिने आकलन गरिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए । चैत मसान्तसम्मको वित्तीय विवरण हेर्दा बैंकको निक्षेप ६० अर्ब रुपैयाँ छ भने ३३ अर्ब रुपैयाँ कर्जा लगानी छ । बैंकको चुक्तापूँजी ३ अर्ब रहेको छ ।
गत वर्ष कोरोना महामारीकै समयमा बैंकले आफ्ना शेयरधनीहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार ऋणको ब्याजमा छुट दिएको थियो । अहिले कोरोनाको दोस्रो लहर सुरु भएकोले आफ्ना शेयरधनी र संस्थालाई मर्का पर्न नदिन आवश्यक निर्णय बोर्ड बैठकबाट गरिने अध्यक्ष उप्रेतीले बताए ।