चालू वर्षमा नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौं, १५ वैशाख । एसियाली विकास बैंक (एडीबी) चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षमा कोनाको असर केही सुधार भएपनि फैलदो क्रममा रहेको दोस्रो लहरका कारण सरकारले राखेको ७ प्रतिशतको लक्ष्य पूरा नहुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार कृषि उत्पादन २.४ प्रतिशत, औद्योगिक क्षेत्र २.५ प्रतिशत र सेवा क्षेत्र ३.४ प्रतिशतले बढ्ने प्रक्षेपण छ ।
यस्तै मेलम्ची खानेपानी आयोजना पूरा भएको र माथिल्लो तामाकोशीको प्रारम्भिक चरणको उत्पादनले आर्थिक वृद्धिमा टेवा पुर्याउने अनुमान गरिएको छ । पछिल्ला ८ महिनामा आर्थिक गतिविधिमा आएको सुधारले पनि उक्त वृद्धिदर हाँसिल हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण गत वर्ष नेपालको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक थियो ।