१३२ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं, २३ वैशाख । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा मुलुकका विभिन्न क्षेत्रका १३२ वटा उद्योग स्थापनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले फागुन समान्तसम्ममा उक्त संख्यामा उद्योगका लागि लगानी प्रस्ताव गरिएको हो ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा दर्ता भएका उद्योगको संख्या घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १७३ वटा उद्योग स्थापनाका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
समीक्षा अवधिमा वैदेशिक लगानी प्रस्तावित प्रतिबद्धता रकममा समेत १४.३ प्रतिशतले कमी आएको छ । ८ महिनामा विभिन्न उद्योगका लागि विदेशी लगानीकर्ताले २५ अर्ब ४२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कुल प्रस्तावित विदेशी लगानी २९ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।