माथिल्लो तामाकोशी आयोजना : म्यानहोलको मर्मत शुरू, पहिलो युनिटबाट जेठभित्रै उत्पादन
काठमाडौं, ६ जेठ । बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक परीक्षण हुँदै गर्दा म्यानहोल (काम गर्न पेनस्टकमा मानिस पस्ने प्वाल)बाट पानी चुहिएपछि परीक्षण रोकेर मर्मत शुरू गरिएको छ । सुरुङमा पानी पठाई करीब ६०० मिटरसम्मको हेडमा पानी भर्दा आयोजनाको म्यानहोलबाट पानी चुहिएको थियो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले म्यानहोलबाट पानी चुहिएपछि परीक्षण कार्य रोकेर मर्मतसम्भार शुरू गरिएको जानकारी दिए । तीनवटा म्यानहोलको मर्मत तथा निरीक्षण शुक्रवारसम्ममा सकिने र आइतवारदेखि सुरुङ तथा पेनस्टकको परीक्षण पुनः सुचारु गरिने आयोजनाले बताएको छ ।
पेनस्टक तथा सुरुङ परीक्षणको काममा कुनै समस्या नआए जेठ अन्तिमसम्ममा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न सकिने प्रवक्ता न्यौपानेको भनाइ छ । आयोजनाका ६ वटा युनिटमध्ये प्रारम्भमा एउटा युनिटबाट ७६ मेगावाट उत्पादन गर्न लागिएको हो । सबै युनिट पूर्ण क्षमता सञ्चालन हुँदा कुल ४५६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
आयोजना निर्माणमा ढिलाइ भएपछि यसको लागत समेत बढेर दोब्बरभन्दा बढी पुगेको छ । २०६५ सालमा आयोजनाको निर्माण शुरू गर्दा निर्माण अवधिको ब्याजबाहेक रू. ३५ अर्ब २९ करोड ४१ लाख लागत अनुमान गरिएको थियो । तर आयोजना निर्माण सम्पन्न हुने समयसम्ममा ८० अर्ब पुग्ने आकलन गरिएको छ ।