अब प्रि–ओपन सेसनमा कम्पनीको शेयर मूल्य २% मात्र घटबढ हुने
काठमाडौं, १० असार । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र (प्रि–ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ । बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि ( ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशत बनाएको हो । यसअघि प्रि–ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो । प्रि–ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको बताएको छ ।
प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ ।
साथै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा १ रहेकोमा सोलाई घटाई १० पैसा कायम गर्ने गरी धितोपत्र कारोबार सञ्चालन विनिमावली २०७५ को दोस्रो संशोधन स्वीकृत गरेको छ ।
उपरोक्त व्यवस्थामा कार्यन्वयनमा आएपछि प्रारम्भिक कारोबार थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बताइएको छ ।
साथै बोर्डले गरेको परिवर्तित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।