Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नवगठित सरकारका प्राथमिकता तय, कोभिडको खोपदेखि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित

नवगठित सरकारका प्राथमिकता तय, कोभिडको खोपदेखि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित

काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएसँगै नवगठित सरकारले प्राथमिकता तय गरेको छ, जसमा कोभिडविरुद्धको खोपदेखि, शान्ति सुरक्षा र अर्थतन्त्रको शीघ्र पुनरुत्थानलाई उच्च महत्व दिइएको छ ।

प्रधानमन्त्रीको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य प्राथमिकतामा सबै नागरिकलाई कोरोनाविद्धको खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरू गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान विषय सरकारको उच्च महŒवमा छ ।

विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रूपमा निर्धारण गरिएको छ । संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ । विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x