सुदूरपश्चिमको कृषि उत्पादनमा वृद्धि, उद्योगको औसत क्षमता उपयोग ४९.३९ प्रतिशत
काठमाडौं, २६ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा सुदूरपश्चिम प्रदेशमा कृषिबालीको उत्पादन तथा उद्योगको औसत क्षमता उपयोग बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (अर्थवार्षिक) सुदूरपश्चिम प्रदेश’ले यस्तो अनुमान गरेको हो ।
उक्त प्रतिवेदनका अनुसार समीक्षा अवधिमा प्रदेशको प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ०.२९ प्रतिशतले वृद्धि भएको छ भने यस्ता बालीको उत्पादन ५.३० प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी उखुको उत्पादनमा ८.८८ प्रतिशतले वृद्धि भएको छ भने दलहन उत्पादनमा ०.५० प्रतिशतले ह्रास आएको छ । त्यसैगरी, समीक्षा अवधिमा तरकारी उत्पादन २.३८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले १०.४५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । प्रदेशका अध्ययन नमूनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४९.३९ प्रतिशत रहेको पाइएको छ ।
औद्योगिक उत्पादनमध्ये आ.व.२०७७÷०७८ को अर्ध–वार्षिक अवधिमा गत आ.व.को सोही अवधिको तुलनामा साबुन, गहुँको पिठो, प्रशोधित दुध, चामल तथा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ भने अन्यको क्षमता उपयोगमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१.७१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा प्रदेशमा पर्यटक स्तरीय होटल तथा लज संख्यामा कुनै परिवर्तन आएको छैन । तर घरजग्गा रजिष्ट्रेशन संख्या १०.४६ प्रतिशत र रजिष्ट्रेशन वापतकोराजस्व ३६.५० प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा प्रदेशमा यातायात साधन संख्या १३.०७ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा २ खर्ब ९३ अर्ब हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको संशोधित अनुमान २ खर्ब ७३ अर्ब थियो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय गार्हस्थ्य उत्पादनमा यस प्रदेशले ७ प्रतिशत हिस्सा ओगटेको थियो भने आव २०७७÷७८ मा यस प्रदेशको योगदान ६.९ प्रतिशत हुने अनुमान छ । आर्थिक वर्ष २०७६÷७७ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ०.६० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७÷७८ मा ३.४ प्रतिशत हुने अनुमान गरिएको छ ।