५६ अंकले खस्कियो शेयर बजार, दुईवटा बाहेक सबै समूह राताम्मे
काठमाडौं, ८ भदौ । दुई दिन लगातार सार्वजनिक बिदापछि खुलेको शेयर बजारले उचाइ दिन सक्ने अनुमानका बाजजुद मंगलवार शेयर बजार ५६.०३ अंकले खस्किएको छ । यस दिन कारोबारमा आएका दुई समूह वित्त र ननलाइफबाहेक सबै समूह राताम्मे भएका छन् ।
यस दिन ३१८६.४७ अंकमा खुलेको नेप्से परिसूचक बजार बन्द हुँदा १.७६ प्रतिशतले घटेर ३१२४.८७ अंकमा आएर बन्द भएको छ । मंगलवार ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ अंकमा समेटिएको छ ।
मंगलवार २२५ कम्पनीको १ लाख ५६ हजार ९१३ पटकमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेचबाट कुल १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन सर्वाधिक नाफा कमाउने कम्पनी गोर्खाज् फाइनान्स कम्पनी रहेको छ, जसको शेयरमूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको छ । यस्तै जीवन विकास लघुवित्तको शेयरमूल्यमा पनि सर्किट लागेको छ ।
यस दिन सबैभन्दा धेरै गुमाउने कम्पनीहरूमा भने अधिकांश जलविद्युत्का छन् । यस्तै सबैभन्दा धेरै कारोबार हुने कम्पनी अरुण भ्याली हाइड्रोपावर रहेको छ, जसको कुल ७५ करोड ४३ लाख ३३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै सबैभन्दा धेरै पटक तथा धेरै कित्ता शेयर कारोबार हुनेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ ।