जसले देखेका छन् फर्निचरमै भविष्य…
काठमाडौं, २३ पुस । गाउँ–ठाउँमै गरिखाने दिगो स्रोत हुन्थ्यो भने, स्वदेशमै भरपर्दो जागिर पाइन्थ्यो भने, हातमा शीप र साथमा आफ्नै उद्यम गर्ने पूँजी हुन्थ्यो भने पासपोर्ट बनाउने सरकारी अड्डामा शायद हुन्नथ्यो त्यति ठूलो लाइन । लाग्ने थिएन म्यानपावर कम्पनीहरूमा भीड र कामकै लागि विदेशिने थिएनन् होला दैनिक सयौं युवा मुलुकबाट । तर यो हाम्रो कल्पना मात्र हो । देशको यथार्थ त के छ, त्यो हामी सबैले देखेका र भोगेकै पनि छौं ।
थोरै रहर, धेरै आवश्यकता र गह्रौं बाध्यताले रोजगारीका लागि विदेशिनेको सूचीमा कुनैबेला झापा बिर्तामोड–८ का ३२ वर्षीय दीपक सापकोटा पनि थिए । तर घरपरिवारको माया र साथीभाइको साथबाट टाढिएर विदेशमा कति नै समय बस्न सकिन्थ्यो र ? ढिलो–चाँडो आखिर एक दिन आफ्नै देश फर्किनु त छँदै थियो । ५ वर्ष मलेसिया र एक वर्ष साउदी अरबको रोजगारीपछि उनको मन विदेश बसिरहन मानेन । अन्ततः विदेशको रोजगारीलाई बिट मारेर फर्किने निधो गरे, त्यो पनि आफ्नै देशमा केही गर्ने अठोट र आत्मविश्वास लिएर ।
विदेशबाट फर्किएपछि आफ्नै उद्यम त गर्ने, तर के गर्ने, कहाँ र कसरी गर्ने भन्ने चुनौती शुरूमा उनीसामु पनि नभएको होइन । यद्यपि उनी आफ्नो निर्णयमा पहिले स्पष्ट थिए । सोही अनुसार पाँच वर्षअघि काठमाडौंमा उनले शुरू गरे ‘फेशन फर्निचर कारखाना’ । आफ्नो अथक मेहनत, कामप्रतिको लगाव र व्यावसायिक रणनीतिसहित अघि बढेका उनी आज मासिक ५ लाख रुपैयाँ आम्दानी गर्न सफल छन् । यो व्यवसायबाट उनी आफू मात्र स्वरोजगार बनेका छैननन्, ३८ जनालाई रोजगारी समेत दिन सकेका छन्, जसले आत्मसन्तुष्टि समेत मिलेको छ ।
सामान्य परिवारमा जन्मेका सापकोटा बाल्यकाल निकै संघर्षपूर्ण थियो । सानैमा बुबा गुमाएका उनका दुईजना दाजु, एकजना दिदी र एक जना बहिनी छन् । परिवारमा दिदी बाहेक सबैले वैदेशिक रोजगारीबाट राम्रो आम्दानी गरेको उनी बताउँछन् । विद्यालय तहको अध्ययन गरेका उनको विद्यालय जीवन पनि सहज थिएन ।
विद्यालय तहको अध्ययन सक्नेबित्तिकै वैदेशिक रोजगारका लागि मलेसिया हान्निएका सापकोटाले राम्रै कम्पनीमा काम गर्ने अवसर पाएका थिए । ‘इमानदार जहा“ पनि बिक्ने रहेछ,’ उनी भन्छन्, ‘मैले इमानदारी देखाएँ, कम्पनीको मालिकले मैले पाउनुपर्ने तलबमा थपेर पैसा दिने गर्थे ।’
इमानदारीकै कारण साविकको भन्दा दोब्बर पैसा कमाउन सफल भएका सापकोटाले आफ्नै कमाइले काठमाडौंको वसुन्धराजस्तो व्यस्त बजारमा फर्निचर कारखाना खोलेका हुन् । कारखानाका लागि उनले बंगलादेशबाट कालीगढ ल्याउने गरेका छन् । सहायकका रूपमा भने नेपाली कामदार छन् । त्यहाँ काम गर्ने कामदारको तलब न्यूनतम मासिक ३० हजारदेखि एक लाख ८० हजारसम्म रहेको उनी सुनाउँछन् । यद्यपि यो व्यवसायमा दक्ष र शीपयुक्त जनशक्तिको अभाव रहेको उनको गुनासो छ ।
विदेशमा बसेर गरेको आम्दानीले अहिले स्वदेशमै लगानी गर्दा राम्रो प्रतिफल आएको सापकोट बताउँछन् । फर्निचर कारखानामा उनले पाँच वर्षअघि ३५ लाख लगानी गरेकोमा अहिले एक करोड ५० लाखभन्दा बढी पुगिसकेको छ ।
हरेक युवामा केही न केही गर्ने सोच अवश्य हुने र आफ्नो दक्षता पहिचान गरि सोही अनुरूप मेहनत गर्दा खेर नजाने उनी बताउँछन् । नेपालबाट हजारौं व्यक्ति वैदेशिक रोजगारका लागि जाने गर्दछन् । तर लगानी गर्ने आर्थिक स्रोत र सीप भए नेपालमै विदेशको पैसा कमाउन सकिने अनुभव उनी सुनाउँछन् । ‘तपाईसँग शीप, जाँगर छ भने आफ्नै देशमा लगानी गर्नुहोस्, तपाईंको लगानी खेर जाँदैन,’ उनी भन्छन् । घर परिवारको सामीप्यमा रहेर राम्रो आम्दानी गर्न सकिने उनको बुझाइ छ ।
काठमाडौंमा रहेका सयौं फर्निचर कारखानाको भीडमा आफूलाई उभ्याउन सक्नु नै उनको व्यावसायिक सफलता हो । बुढापाकाले व्यापार अपार भन्ने गर्छन् । जाँगर चलाउने र मेहनत गर्ने हो भने व्यापारले साँच्चै अपार दिने रहेछ भन्ने उदाहरण पनि हुन् उनी ।