नबिल र नेपाल बङ्गलादेश बैँकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता
काठमाडौं, २९ पुस । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
बैंकले यसका लागि संयुक्त मर्जर–एक्विजिसन सम्बन्धी समिति गठन गरेका थिए । समितिको सिफारिस अनुसार बिहीबार (पुस २९ गते) सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेको हो ।
एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउन नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए । नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।
नबिल बैंकले प्राप्ति गर्न भएको समझदारीपत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात कायम गरिएको छ । उक्त प्रारम्भिक सेयर आदानप्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनलाई समेत आधार मानी अन्तिम रूपमा तय हुनेछ ।
दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्नेगरी लिएको नीति र बैंकहरूको दीर्घकालीन रणनीतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेको दुबै बैंकले जनाएका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि वाणिज्य बैंकमध्ये सबै सूचकांकहरूमा अग्रणी हुने दाबी पनि गरिएको छ ।
यी बैंकहरूले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । प्राप्ति पश्चात नबिल बैंकको प्राथमिक पूँजी ४३ अर्ब, चुक्ता पूँजी २२ अर्ब ५० करोड, कर्जा रकम तीन खर्ब र निक्षेप रकम तीन खर्ब १४ अर्ब रुपैयाँ पुग्नेछ । गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब रूपैयाँमाथि पुग्नेछ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख नाघ्नेछ ।