पानमा दर्ता हुनेको संख्या ४४ लाख नाघ्याे
काठमाडौं, १५ माघ । कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो ।
पछिल्लो पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका छन् ।
यो अवधिमा व्यक्तिगत पानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ । गत असारम्म व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो । रोजगारी गर्ने हरेक व्यक्ति पानमा आबद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।
यस्तै अहिलेसम्म व्यावसायिक पान लिनेको सङ्ख्या १७ लाख चार हजार ४०४ पुगेको छ ।