अर्थतन्त्रमा सुधारको संकेत
काठमाडौं, २८ वैशाख । सरकारले विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सवारी लगायत विलासीको वस्तुको आयात रोकेको छ । देश आर्थिक संकटको बाटोमा जान सक्ने भन्दै सरकारले सजगता अपनाइरहेको छ ।
नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रको चित्रण हुने ९ महिनाको विवरण सार्वजनिक गरेको छ । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत पुगको छ ।
९ महिनामा आयात ३२.० प्रतिशतले र निर्यात ६९.४ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको तथ्यांकमा उल्लेख छ ।
शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको र कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको जनाएको छ ।
संघीय सरकारको खर्च ७ खर्ब ९४ अर्ब २६ करोड र राजस्व परिचालन ७ खर्ब ८९ अर्ब २६ करोड रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.१ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १७.८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ८.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १.८९ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाकं र ज्यालादर सूचकांक क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ०६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।