भारतबाट फेरि घटेर आयो डिजेल र पेट्रोलको मूल्य
काठमाडौं, १६ साउन । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।
आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ । निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
यस्तै पछिल्लो समय विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ । १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन ।
यो पटक पनि नेपाली बजारमा मूल्य घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी गराएका छन् । निगमको घाटा बाँकी नै रहेकाले मूल्य घटाउन नसक्ने अवस्था नरहेको उनको भनाइ छ ।