महालक्ष्मी बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं, १६ साउन । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य रु.१ हजारका दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आज १६ गते सोमबार बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाण्डौमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।
उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ ।